काठमाडौँ । आर्टुडियोले समावेशीकरण र समानता विषय केन्द्रित भित्ते कला उत्सव आयोजना गर्ने भएको छ । आर्टुडियोले अमेरिकन एम्बेसीसँगको सहकार्यमा गर्ने भित्ते चित्रकला उत्सवमा समावेश हुन नेपाली कलाकारहरुलाई खुल्ला आह्वान गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
भित्ते कला परियोजना २०२२ नाम दिइएको कार्यक्रमका लागि १८ देखि ४० वर्ष बीचका कलाकारहरु, म्युरलिस्ट, सडक/ग्राफिटि कलाकार, लोक परम्परागत कलाकार तथा आदिवासी सृजनात्मक अभ्यासकर्ताले आवेदन दिन पाउने गरी आह्वान गरिएको हो ।
यही नोभेम्बर १३ सम्मको डेडलाइन तोकिएको आह्वानपछि दुई चरणमा छनोट भएका कलाकारहरुलाई क्युरेटोरिअल मध्यस्थतामा विभिन्न कलात्मक गतिविधिसहित जनकपुर र काठमाडौंमा भित्ते चित्र सिर्जनामा सहभागी गरिने छ । आह्वान मार्फत सहभागी हुने सम्पूर्ण कलाकारका अवधारणा चित्रमध्ये १० विशिष्ट कला अवधारणा छनोट गरिने छन् ।
सामाजिक विविधता र पहिचानसहित ऐतिहासिक विरासत बोकेको कला भएकोले भित्ते चित्रकलालाई समसामयिक सन्दर्भमा प्रवर्द्धन गर्न र उत्प्रेरित गर्न यो परियोजनाको परिकल्पना गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सामाजिक परिवर्तनका लागि प्रेरित गर्न तथा समावेशीकरण र समानताका प्रमुख मुद्दाहरूमा महत्वपूर्ण सार्वजनिक संवाद स्थापना गर्न भित्ते चित्रकलाको प्रयोग गर्न लागिएको आयोजकको भनाइ छ ।
सांस्कृतिक आदानप्रदान, अनुसन्धान, कार्यशाला, सार्वजनिक प्रवचन र प्रकाशनको संयोजन गरेर सहरका भित्ताहरुलाई जीवन्त बनाइने समेत विज्ञप्तिमा उल्लेख छ ।
आर्टुडियोका संस्थापक तथा कलाकार श्रेष्ठका अनुसार, नेपाली स्थानीय कलाकार र संयुक्त राज्य अमेरिकाका प्रतिष्ठित भित्ते चित्रकारहरूबीच सहकार्य गरिने यो कार्यक्रमले सार्वजनिक थलोको सम्मान, कलाकारहरूबीच सहकार्य, आत्मनिरीक्षण प्रवर्द्धन र आम समुदायलाई सकारात्मकतातर्फ उन्मुख हुन प्रेरित गर्नेछ ।
सहरका सार्वजनिक खाली भित्ताहरुमा सिर्जना गर्ने र उजाड भित्ताहरुको मुहार पनि फेर्ने गर्ने गरी कार्यक्रमको परिकल्पना गरिएको आर्टुडियोका संस्थापक , कलाकार तथा परियोजना क्युरेटर कैलाश के श्रेष्ठले बताए ।