काठमाडौँ । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को ४५औं सम्मेलन माल्दिभ्स्को राजधानी मालेमा शुरु भएको छ ।
‘संरक्षण सहितनिर्माण—अझ सम्मुन्नत विश्व निर्माण गरौं भन्ने नारा सहित शुरु भएको सम्मेलनमा ईफाप्कामा आबद्ध १९ मुलुकका निर्माण व्यवसायी आबद्ध छन् । सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गोर्खा भूकम्प र कोभिड—१९ का कारण जोखिममा परेको नेपाली निर्माण उद्योगले विस्तारै गति लिइरहेको जानकारी दिनु भएको छ ।
अध्यक्ष सिंहले विभिन्न चुनौतिका बाबजुद नेपाली निर्माण उद्योगले गति लिइरहेको बताउनु भएको हो । नेपालमा नौ सय मेगावाटका अरुण दोस्रो र अपर कर्णाली जस्ता जलविद्युत परियोजना, २ हजार ६ सय ८० मिटर लामो सुरुङ मार्ग जस्ता महत्वपूर्ण परियोजना निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष सिंहले जानकारी दिनुभयो । नेपालले सन् २ हजार ३० सम्ममा मध्यम आय भएको राष्ट्रको रुपमा स्तरोन्नति भई दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको प्रष्टपार्नुभयो ।
मौसम परिवर्तनको असर सामना गर्ने नेपाल पनि एक प्रमुख राष्ट्र भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष सिंहले हरित पूर्वाधारको विकासलाई नेपालले प्राथमिता दिएको जानकारी गराउनुभयो । पूर्वाधार विकास मार्फत्को आर्थिक विकास प्रक्रिया प्रति नेपालका राजनीतिक दलहरूको बलियो प्रतिबद्धता रहेको र सोहीअनुसार ऐन नियम तर्जुमा भइरहेको उहाँको भनाइ थियो ।
रुस—युक्रेन युद्धबाहेक जग्गा प्राप्तिमा हुने झमेला, साइट क्लियरेन्सको समस्या, निर्माण सामाग्रीको अभाव, मूल्यवृद्धि, दक्ष तथा प्राविधकि जनशक्तिको अभाव लगायतका आन्तरिक समस्या नेपाली निर्माण उद्योगले सामना गर्नु परिरहेको उहाँले अवगत गराउनुभयो । नेपालमाहाल १७ हजार भन्दा बढी निर्माण कम्पनी दर्ता भइसकेको र १५ लाख भन्दा बढी यस उद्योगमा आबद्ध रहेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो ।
४६औं ईफाप्का सम्मेलन अबको १२ देखि १८ महिना भित्रमा दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित काठमाडौंमा आयोजना हुने जानकारी पनि उहाँले गराउनुभयो । ४५औं सम्मेलनको समाप्तिसँगै महासंघका अध्यक्ष सिंह नै ईफाप्काको अध्यक्ष समेत हुनुहुनेछ । ईफाप्का महासचिवको जिम्मेवारी भने महासंघका सल्लाहकार विरेन्द्र पाण्डेले सम्हाल्नु हुनेछ ।
सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । ईफाप्काको ३० औं सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो ।