सर्लाही । सर्लाही ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख मनोज आचार्यको नेतृत्वमा नेपाल विद्यार्थी संघको स्थापना दिवस फरक ढंगले मनाइएको छ ।
नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा उहाँले नारायण जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेर ने बि संघ स्थापना दिवस मनाएका हुन् ।
छिमेकी नगरहरु र जिल्लाका विभिन्न स्थानमा प्रवचन गोष्ठी आयोजना गरेर परम्परागत रूपमा मनाइए पनि उहाँले आफूले साना-साना विद्यार्थीहरुको लागि स्कुल ब्याग उपहार दिएर यस शुभ दिन मनाउने नयाँ प्रथाको सुरुवात गर्न खोजेको बताउनुभयो ।
यस वर्ष २०८० लाई ईश्वरपुर नगरको शैक्षिक उन्नयनको वर्षको रूपमा मनाउने उद्घोष गरेको बताउँदै उहाँले हरेक दिन र प्रत्येक प्रयास ईश्वरपुर नगर पालिकाको शिक्षाको गुणस्तर अभिबृद्धिका निम्ति खर्चिने उपक्रमको सुरुवात स्वरूप नारायणमा वि का विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको उल्लेख गर्नुभयो ।
ईश्वरपुर नगर क्षेत्रका संपूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई उनीहरूको आवश्यकता अनुरुपका यथा संभव सबै सुविधा उपलब्ध गराउन आफ्नो प्रयास केन्द्रित रहने प्रमुख आचार्यले दावी गर्नुभयो ।
कुरा मात्रै होइन काम गरेर देखाउने बेला हो यो । जनताको सानो सानो आवश्यकताको पहिचान गर्दै तिनको संबोधनमा आफू केन्द्रित भैरहेको छु । त्यसका लागि सरकारी र दातृ एवम् सहयोगी संघ संस्था संग सहकार्य गर्दै अघि बढ्ने मेरो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।