




काठमाडौँ । बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा यस वर्षको ‘हल्ट प्राइज’को अन क्याम्पस प्रतिस्पर्धा सम्पन्न भएको छ। शुक्रबार क्याम्पसमा आयोजित एक समारोहका बीच प्रतिस्पर्धा सम्पन्न भएको हो।
शुक्रबार उक्त प्रतिस्पर्धामा ८ वटा समूहको सहभागिता रहेको थियो । सहभागीमध्येबाट ‘आर्थिका’ समूह छनाेट भएको छ । जुन समुहमा अनुसोया वाग्ले, प्रतिका खतिवडा, आकृति निरौला र पुष्टिका भण्डारी रहनुभएको थियो ।
सो समुहले लोपोन्मुख मदानीको बारेमा जानकारी सहितको प्रस्तुति दिएका थिए । त्यस्तै, फष्ट रनरअपका रूपमा ‘श्रिता’ समुह चयन भएको छ भने, सेकेन्ड रनरअपका रूपमा ‘एली’ समुह चयन भएको छ ।
कार्यक्रममा निर्णायकको भूमिकामा विज्ञान गुप्ता, श्रवण ठाकुर, रितेश सुब्बा र सौरभराज भण्डारी रहनुभएको थियो ।
कार्यक्रमको सभापतित्व क्याम्पस निर्देशक श्रृष्टि थापाले गर्नुभएको थियो । त्यस्तै, प्रमुख अतिथिका रूपमा हल्ट प्राइजको देशीय संयोजक सुबि काफ्ले तथा पद्मकन्या क्याम्पसको सहायक निर्देशक ज्योति न्यौपाने रहनु भएको थियो ।
‘हल्ट प्राइज’को यस वर्षको नारा ‘असिमितता’ रहेको छ। हल्ट २०२३ क्याम्पस निर्देशक श्रृष्टि थापाका अनुसार प्रतियोगीतामा नाराको परिधिभित्र रहेर विभिन्न १७ वटा विषयवस्तुमा सिमित रहेर व्यावसायिक योजना प्रस्तुत गरिएको थियो ।
छनाेट भएको समूहले नेपालको प्रतिनिधित्व गर्दै भारतमा आयोजना हुने क्षेत्रीय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ भने तत्पश्चात् हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउनेछ । १० लाख अमेरिकी डलरको पुरस्कार राशि रहेको अन्तिम चरणको प्रतिस्पर्धामा पुग्न क्षेत्रीय हुँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनाेट हुनुपर्नेछ।
हल्ट प्राइजलाई विद्यार्थीहरूको नोबेल पुरस्कारका रूपमा समेत लिइन्छ। कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा आयोजना गर्दै आएका छन्। प्रतियोगिताअन्तर्गत विद्यार्थीलाई सामाजिक विषयमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउन दिइन्छ।
काठमाडौँ । पछिल्लो समय युट्युवमा अन म्याच शो दर्शक स्रोताहरू माझ लोकप्रिय बन्दै गइरहेको छ । युट्युव प्ल्याट्फर्मको रूपमा स्थापित एव सार्वजनिक गरिएको कतिपय शोहरू हिट छन् भने कति शोहरू फ्लप भइरहेका छन ।
युवा वर्गलाई लक्षित गर्दै पछिल्लो समय अन म्याच शोले दर्शक स्रोताहरूको राम्रो साथ पाइरहेको छ । रमाइलो शो को रूपमा निकालिएको शोले युवावर्गहरु बिच लोकप्रियता कमाउँदै आइरहेको छ ।
केही दिन अघि मात्र युट्युवमा सार्वजनिक गरिएको उक्त शो अहिले दर्शक माझ लोकप्रिय बनेको छ । अश्लील शब्द प्रयोग बिना नै दर्शकलाई मनोरञ्जन दिने उद्देश्यका साथ उक्त शो निर्माण गरेको बताइएको छ ।
साथै, यस अघिका थुप्रै शोहरुलाई चुनौती दिँदै राम्रा शब्द प्रयोग गरेर पनि शो बनाउन सकिने भएकोले यस शोको निर्माण गरेको अन म्याच टिमले बताएको छ । हरेक हप्ताको शुक्रवार ७ बजे आफ्नै युट्युब च्यानल अन म्याच मार्फत शो प्रशारण हुनेछ ।
काठमाडौँ । कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस) का विद्यार्थीहरू “रेड पिटर” शिर्षकको नाटक शोमा सहभागी भएका छन् । केईएचएस स्कुलले विद्यार्थीहरूलाई वज्र होटलको नागा थिएटरमा मञ्चन भएको नाटकमा सहभागी गराएको हो । नाटक “रेड पिटर” फ्रान्ज काफ्काद्वारा लिखित “रिपोर्ट टु एन एकेडेमी” को रूपान्तरण हो । नाटक सबिन लेहम्यानद्वारा मञ्चन गरिएको थियो ।
एक घण्टा पन्ध्र मिनेट लामो नाटकले विद्यार्थीहरूमा सकारात्मक परिवर्तन सँगसँगै जीवनको लक्ष्य प्राप्ति तर्फ उत्प्रेरित हुन मद्दत पुर्याएको छ । नाटक विधामा लोकप्रिय फ्रान्क काफ्काद्वारा लिखित “रिपोर्ट टु एन एकेडेमी” एक वानर, रेड पिटरको कथा हो, जसलाई मानिसजस्तै व्यवहार गर्न तालिम दिइएको हुन्छ । पिटर जनावरहरूप्रति मानिसहरूको व्यवहार देखेर छक्क परेका छन् । तर, अब आफ्नो दृष्टिकोणबाट सबै कुरामा आफ्ना भावनाहरू साझा गर्न सक्षम भएकोमा खुसी छन् । कुन्दन शाक्यले नाटकमा उत्कृष्ट रूपमा चित्रित पिटरलाई असाधारण रूपमा भुमिका निभाएका छन ।
नाटक हेरिसके पश्चात् विद्यार्थीहरुले कलाकारको स्वरमा अचम्मको स्वर, ‘नयाँ मानव’ले देखाएको गहिरो पीडा, पशु समुदायप्रति ‘द एकेडेमी’ले खिल्ली उढाएको जस्ता कुरामा विद्यार्थीहरुले भावना व्यक्त गरेका थिए । विद्यार्थीहरू सँगै नाटकमा सहभागी शिक्षकहरूले,’आफ्ना विद्यार्थीहरूले राम्रो समय मात्र नभई जीवनप्रतिको दृष्टिकोणलाई केही हदसम्म परिवर्तन गर्ने साहित्यबारे पनि सिकेका बताउनुभयो ।
विद्यालयका उप प्रधानाध्यापम जेरेल मोरालेस श्रेष्ठले यस्ता कार्यक्रमहरूबाट विद्यार्थीहरूलाई पुस्तकभन्दा पनि ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले केएचएसले आफ्ना विद्यार्थीहरूलाई उनीहरूको वास्तविक जीवनमा सहयोग पु-याउने कार्यक्रमहरूमा सक्रिय सहभागितामा गराउँदै आइरहेको बताउनुभयो । उक्त नाटक शोमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू सहभागी रहेका थिए ।
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित हुने जनाएको हो ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय परिसरमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति प्रोफेसर राजन वीलुकरको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह हुने भएको विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बताउनुभयो ।
दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीसमेतको सहभागिता रहने उहाँले बताउनुभयो । यसपटकको समारोहमा काठमाडौँ विश्वविद्यालयबाट स्कुल अफ आर्टस्, एजुकेसन, इञ्जीनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पिएचडी नौ जना, एमफिल ४१, स्नातकोत्तर तहका ९८ र स्नातक तहका एक हजार ९२ सहित एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने जनाएको छ । जसमध्ये आर्टस्का ३५, एजुकेसनका ५७, इञ्जीनियरिङका तीन सय ६५, ल का एक, म्यानेजमेन्टका ५०, मेडिकल साइन्सेजका पाँच सय ६५ र साइन्सका एक सय ६७ जना रहने छन् ।
दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको सङ्ख्याभन्दा महिलाको सङ्ख्या बढी रहने छ । पुरुषको प्रतिशत ४९ दशमलव ३५ (छ सय १२) र महिलाको प्रतिशत ५० दशमलव ६५ (छ सय २८) जना रहने छ । दीक्षित हुनेमध्ये वेनिन, भारत, श्रीलङ्का र संयुक्त राज्य अमेरिका गरी चार देशका ७३ जना अर्थात् ५ दशमलव ८९ प्रतिशत रहेका विदेशी विद्यार्थी रहनेछन् ।
काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जीनियरिङअन्तर्गत ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरिने भएको छ । अठ्ठाइसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट ४१ हजार दुई सय ७५ विद्यार्थी उत्तीर्ण भएका छन् ।
विश्वविद्यालयले यसपटक स्कुल अफ एजुकेशनबाट स्नातकोत्तर तहमा मास्टर अफ एजुकेशन इन म्याथमेटिक्स एजुकेशनमा सबैभन्दा बढी सिजीपीए चार प्राप्त गरेका सिद्धार्थ रजकलाई चान्सलर स्वर्ण पदक, स्कुल अफ एजुकेशनबाट नै स्नताक तहमा व्याचलर अफ एजुकेशन इन चाइनिज ल्याङ्वेज टिचिङमा सबैभन्दा बढी सिजीपीए तीन दशमलव ८९ प्राप्त गर्नुभएका सञ्चिता केसीलाई भाइस चान्सलर स्वर्ण पदक, स्कुल अफ म्यानेजमेन्टको एमबिए तहमा सबैभन्दा बढी सिजीपीए तीन दशमलव ९७ प्राप्त गर्नुभएका प्रश्ना भट्टराईलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र स्कुल अफ म्यानेजमेन्टबाट नै एमबिए तहमा सिजीपीए तीन दशमलव ८५ प्राप्त गरी सर्वोत्कृष्ट हुनुभएका आयुष्मा पोखरेलाई रणबहादुर शाह स्वर्ण पदक प्रदान गर्ने भएको विश्वविद्यालयका प्रवक्ता उद्धव प्याकुरेलले बताउनुभयो ।
यसैबीच विश्वविद्यालयले गत जेठ २२ गते सम्पन्न काठमाडौँ विश्वविद्यालयसभाको ९५औँ बैठकबाट आव २०७८/७९ को वार्षिक कार्यप्रगति विवरण स्वीकृत गरेको, आव २०८०/८१ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय (बजेट) मा कुल रकम रु दुई अर्ब २१ करोड ५५ लाख आय हुने र रु दुई अर्ब २६ करोड व्यय हुने अनुमान गरिएको, विश्वविद्यालयको आव २०७७/७८ र आव २०७८/७९ को वार्षिक लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको प्रवक्ता प्याकुरेलले बताउनुभयो ।
त्यस्तै आव २०७९/८० को लेखापरीक्षणका लागि लेखापरीक्षकका रूपमा एमबी श्रेष्ठ एण्ड कम्पनी नियुक्ति गरी लेखापरीक्षकको पारिश्रमिक निर्धारण गरेको तथा काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ को दफा ५ (ङ) एवं २२ बमोजिम विश्वविद्यालय आर्थिक नियम २०४९ मा आठौँ संशोधन नियम, २०८० लाई संशोधन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
काठमाडाैँ । ‘हल्ट प्राइज’ को आन्तरिक प्रतियोगिता पद्मकन्या बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । मगलबार पद्मकन्या क्याम्पसमा एक कार्यक्रमकाबीच प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा फेसन सँग सम्बन्धित साथै विजनेस सँग सम्बन्धित आईडियाहरू प्रस्तुत गरिएको थियो । जसमा वेवसाइड सहित विभिन्न आइडियाहरूमा विद्यार्थीहरूले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सभापतिका रूपमा दीपा आचार्य, प्रमुख अतिथिका रूपमा अच्युत प्रधानाङ्ग रहनुभएको थियो भने, निर्णायकको भुमिकामा किरण तिमल्सिना, रूवि शाह, आकाश देव, राजेन्द्र माण्डव्य र नम्रता लोहनी रहनुभएको थियो ।
मंगलबारकाे अन्तिम चरणमा १० वटा समुहको सहभागीता रहेको थियो । सहभागीमध्ये ‘चर्तुभुज समूह’ छनोट भएको हाे । जसमा अनुपा बराल, प्रजिता तिमल्सिना, सोना महर्जन र समीक्षा खड्का रहेका छन् । सो समुहले फेसन डिजाइन सँग सम्बन्धित फरक आइडिया प्रस्तुत गर्दै प्रतियोगिताको उत्कृष्ट टीमका रूपमा चयन भएको थियो ।
‘रिडिसाइनिङ् फेसन’ नाराका साथ प्रतियोगीले आफ्नो योजना प्रस्तुत गर्नुपर्ने थियो । पद्मकन्या क्याम्पस हल्ट प्राइजको विजेता समूह प्रतियोगिताको अर्काे चरणमा प्रवेश गरेकाे छ । अन्तिम चरणका पुग्ने विजेताले १० लाख अमेरिकी डलर हात पार्नेछन् ।
‘हल्ट प्राइज’ पद्मकन्या बहुमुखी क्याम्पसको ग्रण्ड फिनाले मार्फत विजयी टीम एक स्टेप अगाडि बढेको र सबै विद्यार्थीहरूको साथ सहयोगले नै यति धेरै टीमहरूको सहभागीतामा निर्णायक मार्फत हामीले उत्कृष्ट टीमलाई अगाडि पठाएका छौँ र यो सफलताको लागि आफुहरू खुसि रहेको कार्यक्रम संयोजक दीपा आचार्यले बताउनुभयो ।’
विद्यार्थीहरूको लागि किताबको ज्ञान मात्र नभएर प्रतियोगितात्मक कार्यक्रमले जीवनको वास्तविकतालाई अनुभव गर्ने विद्यार्थीमा प्रतियोगितात्मक चेतना अभिवृद्धि गर्ने उदेश्यले यसलाई हरेक वर्ष कलेजले संयोजक टीम बनाएर सञ्चालन गर्दै आइरहेको कार्यक्रम संयोजक आचार्यले बताउनुभयो ।
हल्ट प्राइजलाई विद्यार्थीहरूको नोबेल पुरस्कारका रूपमा समेत लिइन्छ । कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा आयोजना गर्दै आएका छन् । प्रतियोगिताअन्तर्गत विद्यार्थीलाई सामाजिक विषयमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउन दिइन्छ ।
काठमाडौँ । काठमाडौंको चावहिलमा रहेको विनायक सिद्ध कलेजले विभिन्न प्रतियोगिताहरूबाट उपाधि जितेको छ ।
कलेजले स्पर्दम कलेजद्वारा आयोजित अन्तर कलेज फुटसल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो भने अर्को ACE कलेजद्वारा आयोजित kaleidoscope-2023 मा ग्रुप डान्स प्रतियोगितामा प्रथम स्थान हासिँल गरेको हो ।
फुटसल प्रतियोगितामा विनायक सिद्ध कलेजका विद्यार्थीहरू अभिषेक तामाङ वेष्ट गोल किप्पर भएका थिए भने, मदन पौडेल वेष्ट प्लेयर घोषित भएका थिए । प्रतियोगितामा प्रथम भएसँगै कलेजले पुरस्कार राशि सहि त प्रमाण पत्र र ट्रफि हात पारेको थियो । ‘उक्त प्रतियोगिताहरूमा कलेजका ११ र १२ कक्षाका विद्यार्थीहरूको सहभागी रहेको र उनिहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेर उपाधि हात पारेको’, विनायक सिद्ध कलेजका कोर्डिनेटर विनय सिम्खडाले जानकारी दिनुभयो ।
त्यस्तै, विद्यार्थीरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै विनायक सिद्ध क्याम्पसका क्याम्पस प्रमुख रामकृष्ण सिम्खडाले, ‘ विनायक सिद्ध कलेज पढाइका सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अव्वल रहेको बताउनुभयो ।
‘उहाँले दुवै प्रतियोगितामा विजयी हुने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना सहित आगामी दिनमा थप महत्त्वपूर्ण प्रतियोगितामा विजयी हुन आग्रह गर्नुभयो । विनायक सिद्ध कलेज उत्कृष्ट शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अव्वल रहदैँ आईरहेको छ ।
काठमाडौँ । साहित्यकार बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ बाट प्रेरित नाटक ‘मुनमुन’ मञ्चनको तयारीमा रहेको छ ।
बुद्धिसागरद्वारा लिखित चर्चित उपन्यास ‘फिरफिरे’ बाट प्रेरित रहेर नाटक मञ्चन गर्न लागिएको हो ।
नाटकको लेखन तथा निर्देशन सम्राट् भुजेलले गर्नुभएको हो भने, श्रीसेस श्रेष्ठको सह- निर्देशन मा नाटक तयारी भएको हो ।नाटकमा किशोर महर्जनको सङ्गीत रहेको छ ।
नाटकमा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट् भुजेल, प्रविन खरेल, सन्तोष गिरि, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोख्रेल, किशोर थापा, विशाल बुढा क्षेत्रीको अभिनय रहेको छ ।
फागुन ५ गते देखि २० गतेसम्म बानेश्वर थापा गाउँ स्थित मण्डला नाटक घरमा “मुनमुन” सोमबार बाहेक हरेक दिन साँझ ५ : १५ बजेबाट मञ्चन हुने बताइएको छ । भने, शनिवार दिउँसो १:३० र साँझ ५:१५ मा दुई सो मञ्चन गरिने छ थिएटरले जनाएको छ ।
काठमाडौँ । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज साँझ पदभार ग्रहणपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले निभाउनुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताउनुभयो ।
विधि र पद्धतिका आधारमा काम गर्ने प्रणाली स्थापित गर्ने जनाउँदै उहाँले कुनै दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति आफू प्रतिबद्ध रहेको बताउनुभयो । आफूले स्वतन्त्र र स्वायत्तरूपमा कार्यसम्पादन गर्ने उहाँको भनाइ छ ।
“आम नागरिकले शान्ति सुरक्षाको महसुस कत्तिको गरिरहेका छन्, त्यस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्छु”, उहाँले भन्नुभयो, “आम जनजीविकाका विषय मेरा प्राथमिकतामा छन् ।” गृह प्रशासन मातहतका सङ्गठनको मनोबल उच्च तुल्याउने काममा आफू लाग्ने उहाँको भनाइ छ । आफू सञ्चारकर्मी भूमिकामा रहँदा सबैभन्दा बढी काम गर्नुपर्ने जनचासोका विषय गृह मन्त्रालय पाएको र त्यसमा पहल गर्नुपर्ने भएकाले आफ्नो रोजाइमा गृह मन्त्रालय परेको बताउनुभयो ।
आफूले स्वतन्त्ररूपमा कसैलाई विभेद नगरी बराबरी रूपमा कार्यसम्पादन गर्ने अधिकार सबैलाई प्रदान गर्ने बताउनुभयो । हरेक निर्णय स्वतन्त्र र विश्वसनीयरूपमा गरेर प्रशासनका माध्यमबाट जनताका लागि न्याय दिइने उहाँको प्रतिबद्धता छ । साझा नीति तथा कार्यक्रम बनाएर काम गर्ने सम्झौताका आधारमा आफूहरू सरकारमा सहभागी भएको जनाउँदै उहाँले सरकारमा रहेर पनि आम जनताको मुद्दामा वाचापत्रद्वारा प्रतिबद्धता जनाएअनुसार प्रखररूपमा आवाज उठाइरहने बताउनुभयो ।
गृहमन्त्री लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी विषयको छानबिनलाई थप प्रभावकारी बनाउने निर्णय लेखेर ल्याउन मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिनुभयो । उहाँलाई मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो ।
काठमाडौँ । नाटकीय रूपमा राजनीतिमा उलटफेर भएपछि आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।
नवनियुक्त प्रधानमन्त्री दाहालको आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको थियो ।
यसअघि दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका माओवादी अध्यक्ष दाहाललाई यसपटक तेस्रोपटक प्रधानमन्त्री हुने राजनीतिक माहोल खडा भयो । पद तथा गोपनीयताको शपथ समारोहमा नवनियुक्त प्रधानमन्त्रीले नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर सहभागी हुने चर्चा आज बिहानदेखि चलेको थियो । प्रधानमन्त्री दाहालको सचिवालयले नै सो विषयलाई बाहिर प्रचारमा ल्याएको थियो ।
बिहानदेखिको चर्चालाई सही साबित गर्दै प्रधानमन्त्री दाहाल आज तेस्रोपटक पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभयो ।
यसअघि दुईपटक प्रधानमन्त्री भए पनि उहाँले दौरा सुरुवाल लगाउनुभएको थिएन । समान्यतया, कोट पाइन्ट लगाउन रुचाउने अध्यक्ष दाहालले नयाँ परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा लगाउनुभएको पोसाकको पनि राम्रै चर्चा परिचर्चा भएको छ ।
नेपाल बहुसांस्कृतिक एवं बहुभाषिक विविधतासहितको देश हो । हरेक जातजातिका आ–आफ्नै वेशभूषा र पहिरन रहेको छ । त्यसले आ–आफ्नो विविधतासहितको परिचय दिएको छ ।
प्रधानमन्त्री दाहालले पनि यसअघिका प्रधामनन्त्रीले जस्तै दौरा सुरुवालमा पद तथा गोपनीयताको शपथ लिएर नयाँपनको सुरुआत गर्नुभएको छ ।
यसअघि सामान्यतया सार्वजनिक समारोहमा दौरा सुरुवाल नलगाउनुभएका प्रधानमन्त्रीले यसपटक पोसाक प्रयोगमा पनि नयाँपन दिनुभएको छ । प्रधानमन्त्रीले मात्रै नभई उपप्रधानमन्त्रीत्रयले पनि पद तथा गोपनीयताको शपथ लिँदा सोही पोसाक लगाउनुभएको थियो ।
दौरा सुरुवाल नेपाल र भारतको सिक्किम, दार्जिलिङ आदि क्षेत्रमा प्रख्यात र प्रचलित पोसाकका रूपमा रहेको छ । दौरा लामो बाहुला भएको र अगाडि छातीमा दुई फेर गरी दुवैतिर बाँध्न मिल्ने कुमदेखि घुँडासम्मको हुन्छ । सदियौँदेखि पहाडी भेगमा बढी प्रयोग हुँदै आएको पोसाक । त्यसमाथि कोट र शिरमा ढाका वा भादगाउँले टोपी पनि लगाउने प्रचलन छ ।
विसं १६८० को दशकमा सिद्धिनरसिंह मल्लले एउटा रेखाचित्रमा तुना बाँधेको पोसाक पहिरेको देखिन्छ । कैयौँ मल्लकालीन मूर्तिमा पनि यो पोसाक देखिन्छ । ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधकद्रापी शब्द उल्लेख छ । यसलाई भाषाका जानकारहरूले ‘लबेदासरहको’ भन्ने अर्थमा व्याख्या गरेका छन् ।
सोही द्रापीबाट दौरा भएको मानिन्छ । यो दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँध्ने गरी व्यवस्था मिलाइएको हुन्छ । दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टि छेउमा सेप्टी लगाएर त्यसलाई सिइएको हुन्छ । यसमा आठवटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बाँधिन्छ ।
हालै मात्र नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दौरा सुरुवाल नै लगाउन भनिएको थियो ।
काठमाडौँको जयबागेश्वरीमा दौरा सुरुवालको पसल चलाउँदै आउनुभएका केशव भट्टराई राज्यका तर्फबाट नै राष्ट्रिय पोसाकको प्रवद्र्धनका लागि थप अभियान चलाउनुपर्ने बताउनुहुन्छ ।
उहाँका अनुसार चाडबाडको समय, दसैँ, तिहार र विवाह व्रतबन्धको समयमा बढी चासो र कारोबार हुने दौरा सुरुवालप्रति नेताहरूको लगाव बढ्दै जानुलाई सकारात्मकरूपमा नै लिनुपर्छ ।
राष्ट्रिय पोसाकको प्रवद्र्धनका लागि नेपाली सबैको सार्थक पहल हुनुपर्ने भट्टराईको भनाइ छ । लगाउन सजिलो तथा जुनसुकै मौसममा पनि प्रयोग गर्न सकिने भएकाले दौरा सुरुवालको आफ्नै महत्त्व र विशेषता छ ।