Category: राजनीति
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उहाँले चौथौपटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो ।बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो ।विश्वासको मत प्रक्रियामा एक सय ५८ सांसद सहभागी हुनुभएको सभामुख घिमिरेले जानकारी गराउनुभयो । कांग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिनुभएको थियो ।कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । -
नृतिका शाक्यको पहिरनमा आयुस्मा
काठमाडौँ । जर्नी अफ फेसनको १८औँ संस्करणमा आयुष्माले नृतिका शाक्यको डिजाइनमा रहेको पहिरन लगाएर नयाँता नामक फेसन शोमा सहभागी भएकी छन् ।
नमुना कलेजले काठमाडौंमा आयोजना गरेको समारोहमा उनि नृतिका शाक्यको डिजाइनमा रहेको पहिरनमा प्रस्तुत भएकी हुन् ।
“फिग फ्लावरेट” एक अचम्मको ककल पोशाक हो । जसले नेभाराको फल र यसको फूलका विभिन्न रंगहरूबाट प्रेरणा लिन्छ, प्रकृतिको ताजगीलाई फेसनको लालित्यसँग मिसाउँछ ।मुख्य कपडाको रूपमा प्रिन्टेड अर्गान्जा र लाइक्रा कपडाको नाजुक संयोजनबाट डिजाइन बनाइएको हुन्छ । डिजाइनमा आस्तीन बिना स्वीटहेयर बोडिस कोर्सेट रहेको छ।
नेभाराका फूलहरूसहितको हेड स्कार्फ: फिगबाट प्रेरित पोशाकसँग भिन्न रंग रहेको हुन्छ । यो ककटेल पोशाक बैजनी मोजा, हेड स्कार्फ, फिग इयररिङ र सुन्दर बैजनी पन्जाहरूसँग स्टाइल गरिएको छ।
पञ्जाको औंठीमा जोडिएको फूलले पोशाकलाई सुन्दरता दिन्छ । साथै, पहिरनको मुख्य बाहिरी भाग लुगाको भित्री डिजाइनको साथमा प्रिन्ट गरिएको अर्गान्जाले बनेको हुन्छ ।जुन ड्रेसको भित्री डिजाइनसँग मिल्दोजुल्दो हुन्छ । जुन खुल्दा सुन्दर पोशाकमा रहेको हुन्छ ।
-
प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा
गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ ।फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गर्नुभएको थियो । -
अभ्यास अदालत प्रतिष्पर्धामा उत्कृष्ट ३ विद्यार्थी पुरस्कृत
काठमाडौँ । नमूना अभ्यास अदालत प्रतिष्पर्धा कार्यक्रममा देशभरबाट ३ उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन। ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपद्वारा राजधानीमा आयोजित नमूना अभ्यास अदालत कार्यक्रमको समापन समारोहमा उत्कृष्ट ३ विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।
ज्ञान पुञ्जले आयोजना गरेको २ दिने नमुना अभ्यास अदालत सेमिनार एवम् प्रतिष्पर्धा कार्यक्रममा प्रथम भएकी ननिता खत्रि, द्वितिय भएकी अनिता पाण्डे र तृतिय भएकी गंगा रिमाललाई प्रमाणपत्र प्रदान गरेको छ । प्रतिष्पर्धामा करिव ७० जना कानूनका विद्याथीहरु सहभागी रहेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले कानुन बिषयको पाठ्यक्रम अद्यावधिक गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष घिमिरेले समयानुल परिवर्तनको आवश्यकता औल्याउनुभयो । नयाँ पिढी आईटी र एमबिबिएस भन्दा कानून विषयमा अधिक आकर्षित हुन थालेको भन्दै उहाँले समयको माग अनुसार अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका अध्यक्ष हरि प्रसाद डुम्रेले कानून व्यवसायीहरुको पेशागत र व्यक्तित्व विकासका लागि गर्दै आएको क्षमता अभिबृद्धि कार्यक्रमले राष्ट्रको दक्ष जशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. विजय प्रसाद मिश्रले पनि प्रशिक्षण गर्नु भएकाे थियाे ।
यस्तै कार्यक्रममा न्यायाधिशको निर्णायक मण्डलीमा रहनुभएका उच्च अदालतका पूर्व न्यायाधिश अनन्त राज डुम्रे, विनोद मोहन आचार्य, अधिवक्ता बाबुराम दाहाल, बेगेन्द्र राज शर्मा पौड्याल, पुष्पराज बास्तोला लगायतले सहभागि विद्यार्थीहरुलाई अधिवक्ताको कर्तव्य र अधिकारको विषयमा दृष्टिगत गराउनुभएको थियो ।
-
मेलम्चीको पानी काठमाडौँवासीलाई नियमित उपलब्ध गराउँछौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी नियमितरुपमा उपलब्ध गराइने बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित मेलम्ची खानेपानीको पथान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दिगोरुपमा खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले खानेपानीको दिगो व्यवस्थापनका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई ध्यानमा राखेर खानेपानीको बढ्दो माग र आपूर्ति पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ । मेलम्ची खानेपानी आयोजनाको हेडबक्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई पुनःनिर्माण कार्य कार्यान्वयन गरिने तथा हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रैमास सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभयो । उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सैँ घण्टा उपभोक्ता सदस्यको धारामा वितरण गर्ने व्यवस्था मिलाउनसमेत उहाँले निर्देशन दिनुभयो ।
“सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौँ उपत्यकामा नयाँ वितरण प्रणाली र फोहर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । सिएमसी कम्पनीले बीचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा दिलबहादुर गुरुङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने उहाँले बताउनुभयो ।
-
१५औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्कृप्ट आह्वान
काठमाडौँ । १५औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्कृप्ट आह्वान गरिएको छ । शैली थिएटर, रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल इसानको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो ।
त्यस्तै, १५औँ राष्ट्रिय बाल नाटक महोत्सवका डाइरेक्टर नवराज बुढाथोकीले शैली थिएटरले हरेक वर्ष जस्तै यस बर्ष पनि राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्कृप्ट आह्वान गरिएको जानकारी दिनुभयो । विगत १४ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटकको १२ र १३औँ महोत्सव भर्चुअल रूपमा सम्पन्न गरिएको थियो ।
उक्त नाटक महोत्सवका लागि पुस २२ गतेसम्म स्कृप्ट आह्वान गरिएको र माघ १ गते छनोट भएका नाटकहरू सार्वजनिक गर्ने तयारी रहेको शैली थिएटरका महासचिव सविन न्यौपानेले बताउनुभयो । त्यसैगरी, १५औँ बालनाटक महोत्सव सात दिनसम्म सञ्चालन गर्ने तयारी भइरहेको पनि महासचिव न्यौपानेले जानकारी दिनुभयो ।
विगतका दुई वर्षहरूमा अनलाइन माध्यमबाट भर्चुअल महोत्सव गरेको शैलीले यस पटक प्रतियोगी र अप्रतियोगी नाटक प्रस्तुत गर्दैछ । छनोट भएर मञ्चनमा लगिएका नाटकहरूलाई मञ्चनकै अविधमा विज्ञहरुको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरीने छ । बाल नाटक महोत्सवमा प्रतियोगि र अप्रतियोगी गरेर निर्णायक टोलीले नाटक समावेश गर्नुहुने छ । काठमाडौँ उपत्यका र बाहिरी जिल्लाहरूबाट पनि नाटक समावेश गरिने जनाइएको छ ।
२०६६ सालदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटक महोत्सवमा पहिलो वर्ष ६ वटा नाटकहरू समावेश रहेका थिए । त्यस्तै, २०६७ सालमा १० ओटा नाटक मञ्चन भएका थिए भने, २०६८ सालमा ८ वटा, २०६९ सालमा १४ वटा, २०७० सालमा १० वटा नाटक समावेश रहेका थिए । त्यस्तै, २०७१ सालमा १५ वटा, २०७२ सालमा १२ वटा, २०७३ सालमा १५ वटा, २०७४ सालमा १५ वटा, २०७५ सालमा २० वटा, २०७६ सालमा १८ वटा तथा, २०७७ सालमा १२ वटा, २०७८ सालमा १० वटा नाटकहरू रहेका छन् भने, रूसी सदन कमल पोखरीमा आयोजना भएको २०७९ सालको महोत्सवमा २९ वटा नाटकहरू समावेश रहेका थिए।
बालबालिकाका विषयबस्तुलाई केन्द्रमा राखी कार्य गर्ने शैली थिएटरले विगत १४ वर्षदेखि हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आइरहेको छ । नाटककाे स्कृप्ट रूसि सदन कमलपोखरी र रातोपुल स्थित शैली थिएटरमा बुझाउन सकिने छ ।
-
चिम्टेश्वर विकास समितिको अध्यक्षमा रामचन्द्र तिमल्सिना
नुवाकोट । नुवाकोटको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र चिम्टेश्वर विकास समितिको अध्यक्षमा रामचन्द्र तिमल्सिना नियुक्त हुनु भएकाे छ ।
बेलकोटगढी नगरपालिकाकाे कार्यपालिका बैठकले बेलकोटगढी नगरपालिका वडा २ का वडाध्यक्ष समेत रहनु भएका तिमल्सिनालाई जिम्मेवारी दिएको हो ।
वडाध्यक्ष समेत रहनु भएका तिमल्सिनाले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिइएको र त्यस भित्रकाे कार्यक्षेत्रमा रहेर काम गर्ने बताउनुभयाे ।ऐतिहासिक तथा धार्मिक, पुरातत्व, पर्यटकीय चिम्टेश्वर क्षेत्रको विकास तथा प्रबर्द्धनको लागि पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने तिमल्सिनाले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
तिमल्सिनाले लामो समयदेखि चिम्टेश्वरलाई धार्मिक, एतिहासिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि पहल गर्दै आइरहेका छ । तिमल्सिना नेपाली कांग्रेसबाट नवनिवार्चीत वडाध्यक्ष हुनुहुन्छ ।
-
अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री
काभ्रे । अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारकोे लागि बजेट अभाव नहुने जानकारी दिनुभएको छ । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन”, मन्त्री डा महतले भन्नुभयो ।
तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमिमा रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता गरिएको छ ।
यस्तै मन्त्री डा महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चिनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभे्रपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने छ भन्नुभयो “उक्त सडकको स्तरोन्नतिले पनि यस क्षेत्रको पर्यटन र कृषिमा टेवा पुग्नेछ, जसका कारण आर्थिक गतिविधि चलायमान भई नागरिकमा थप जागरुकता पैदा गर्नेछ”, उहाँले भन्नुभयो ।
मन्त्री डा महतले हाल विदेशी मुद्राको सञ्चिति यथेष्ट भएकाले आयात निर्यातमा कुनै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी र स्वदेशी पर्यटकको चहलपहल बढेको छ, यसले पनि आर्थिक अवस्थालाई टेवा पुग्नेछ ।” उहाँले चालु आवमा प्रदेश र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको दुःख व्यक्त गर्दै सघीय सरकारले झैँ सबैमा बराबरी प्रतिशत घटाइका उहाँको भनाइ थियो ।
मन्त्री डा महतले आउने समयमा अर्थतन्त्रले लय समात्नेमा विश्वास व्यक्त गर्दै निजी क्षेत्रले क्रियाशीलता बढाएकाले उक्त क्षेत्रलाई आगामी दिनमा सरकारले आत्मविश्वास दिलाउने काम गर्ने बताउनुभयो । यसअघि बजेट सुनिश्चिचता नहुँदा धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दे उहाँले हरेक निर्जाचन क्षेत्रमा प्राथमिकता निर्धारण गरी विकास योजना बनाउन र बजेट माग गर्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा समितिका प्रमुख दीपक गौतमले आव २०८०र८१ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
-
आईएससो सर्टिफाइड लुम्बिनी एकेडेमीक कलेजको स्वागत एवं विदाई कार्यक्रम सम्पन्न
काठमाडौँ । आइएसओ (९००१ : २०१५) बाट सर्टिफाइड लुम्बिनी एकेडेमीक कलेजले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत एवं विभिन्न तहका कलेजका विद्यार्थीहरूलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ। नागपोखरीस्थित अर्नाया बुटिक होटेलमा आयोजित एक कार्यक्रमका बिच कलेजले स्वागत एवं विदाई कार्यक्रम सम्पन्न गरेको हो ।
लुम्बिनी एकेडेमीक कलेजका अध्यक्ष लोकेश ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलेजका प्रीन्सिपल रविन भट्टराई, प्रवन्ध निर्देशक रविन चन्द्र कोईराला तथा कलेजका विषयगत शिक्षक तथा नवआगन्तुक विद्यार्थी सहित कक्षा १२ तथा स्नातक तह, स्नाकोत्तर तहका विद्यार्थीहरूको समुपस्थिति रहेको थियो ।
कार्यक्रममा कलेजलाई आइएसओ सर्टिफाइडको प्रमाणपत्र नेपाल रियलिस्टिक सोलुसनका प्रमुख कार्यकारी अधिकृत रोशन श्रेष्ठले कलेजका प्रबन्ध निर्देशक रबिन कोईरालालाई प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै लुम्बिनी एकेडेमीक कलेजका प्रमुख रविन भट्टराईले, ‘नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै कलेज आईएसओ सर्टिफाइड भएकोमा सम्पूर्णमा खुसी व्यक्त गर्दै आफुहरूमा थप जिम्मेवारी थपिएको महशुस भएको बताउनुभयो ।’
उहाँले कलेजको उन्नति प्रगति नै हरेक विद्यार्थीको सफलता भएको बताउनुभयो । कलेजमा आउँदै गर्दा र आफ्नो लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहदाँ कलेजले आफुलाई के दियो र मैले कलेजलाई के दिए त ? भन्ने कुरा विद्यार्थीमा हेक्का रहनु पर्ने भट्टराईले बताउनुभयो ।
त्यस्तै, विद्यार्थीहरूलाई प्रेरणाका कुराहरू प्रस्तुत गर्दै उत्प्रेरक बक्ता प्रमोद हरि गुरागाईले,’विद्यार्थी जीवन पुनः फर्केर नआउने भएकोले आफुलाई म को हुँ भनेर चिन्न हरेक व्यक्तिले आवश्यक रहेको बताउनुभयो ।’
त्यस्तै, कार्यक्रममा प्लस टु कोअडिनेटर रविन्द्र पाख्रिनले नव आगन्तुक विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी दिदै कलेजमा पालना गर्नुपर्ने निति नियमहरूका बारेमा जानकारी गराउनुभयो ।
विभिन्न सांगीतिक कार्यक्रमहरूले भरपुर मनोरञ्जन गराइएको कार्यक्रममा गायक महेश काफ्लेको लाइभ प्रस्तुति रहेको थियो भने, कार्यक्रममा कलेजका विद्यार्थीहरूले विभिन्न सांगीतिक नृत्य सहितको प्रस्तुति दर्शाएका थिए ।
कार्यक्रमको अन्त्य गर्दै लुम्बिनी एकेडेमीक कलेजका अध्यक्ष लोकेश ढकालले, ‘कलेजको सफलता सँगसँगै नयाँ सदस्यहरूलाई शुभकामना तथा बधाइ ज्ञापन गर्दै शैक्षिक थलोको हामीले सधैं सम्मान गर्नुपर्ने बताउनुभयो ।’
उहाँले, आइएओ सटिफाइड कलेजका रूपमा लुम्बिनी एकेडेमीक कलेज रहेको र यहाँसम्म पुर्याउन विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूको विशेष भुमिका रहेको बताउनुभयो ।
लुम्बिनी एकेडेमिक कलेजले कक्षा ११/१२ तफ म्यानेजमेन्ट, ह्युम्यानिटिज, ल, साइन्स तथा व्याचलर तर्फ बिबिएस्, बिबिएम, बिसिए र मास्टर्स तर्फ एमबिएस लगायतका विषयहरू पठनपाठन गराउँदै आइरहेको छ ।
लुम्बिनी एकेडेमीक कलेज वि.सं २०६३ सालमा स्थापना भई १७औँ बसन्त पार गर्न सफल कलेज हो । कार्यक्रममा करिव १००० जना भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
-
सामान्य मतभेद हुने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसद्मा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्नु संसदीय मर्यादा नभएको बताउनुभयो ।विगतमा शान्ति प्रक्रियामा आइसकेपछि आफ्ना तर्फबाट भएका कमीकमजोरीका सन्दर्भमा आत्मसमीक्षा र आत्मस्वीकृति गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ । “कमजोरी भएको ठाउँमा कमजोरी भयो भनेको छु, कमजोरी स्वीकार गरेको छु”, प्रधानमन्त्रीले भन्नुभयो, “मैले प्रधानमन्त्रीका रूपमा नबोल्नुपर्ने थियो ।तर, त्यसदिन प्रधानमन्त्रीका रूपमा नभई एउटा छोरीका पिताका रूपमा बोलेको हो ।” प्रधानमन्त्री दाहालले आफूले कहीँ कहिल्यै पनि मुलुकको सार्वभौमसत्ता र अखण्डताप्रति सम्झौता नगरेको र गर्न नसक्ने स्पष्ट पार्नुभयो । सङ्कटको समयमा र गम्भीर राष्ट्रिय मुद्दामा आफूले सधैँ सहमति र सहकार्यलाई नै अगाडि बढाएको प्रधानमन्त्रीको भनाइ छ ।आफूले सार्वजनिक र अन्य स्थानमा समेत मनले बोल्ने गरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीका रूपमा दिमागले बोल्नुपर्ने हो । यस विषयमा सैद्धान्तिक ज्ञान नभएको होइन ।” मनभित्र आफ्नो कुनै नियत नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफूले आत्मसमीक्षा गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “जसले प्रस्ताव गरेर मलाई प्रधानमन्त्री बनायो, उसैले प्रधानमन्त्री कसले बनायो भनेर प्रश्न उठाएको देख्दा थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको अवहेला हुने गरी यो विषय किन उठ्यो होला भनेर मभित्र प्रश्न उठेको छ ।”यस पटकको प्रधानमन्त्री बन्ने, शतप्रतिशत मत प्राप्त गर्ने, गठबन्धन नयाँ बन्ने विषय नेपालको इतिहासमा नै नयाँ भएको उल्लेख गर्दै उहाँले सार्वजनिक अभिव्यक्तिमा आफ्नो भाषा नमिलेको भए पनि स्पष्टीकरणको मौकासमेत नदिई प्रश्न उठाउनु उपयुक्त नभएको बताउनुभयो । अन्योल र अराजकतातर्फ मुलुक जान लागेको बेला सरकारले जनसरोकारका विषयमा उपयुक्त र प्रभावकारीरूपमा कदम चालिरहेको बेला अनावश्यक प्रश्न उठाइनु पनि गलत भएको प्रधानमन्त्रीको भनाइ छ ।उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सरकार जरोसम्म नै पुग्ने र त्यसमा सबैको साथ जरुरी रहेको बताउनुभयो । राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष एक आपसमा मिलेर जानुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र र यसको संरक्षण सम्वर्द्धन गर्न सबै मिलेर जानुपर्छ भन्नेमा प्रष्ट रहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने सवालमा आफूले लगातार सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेतासँग महत्त्वपूर्ण छलफल गरेको जानकारी दिनुभयो ।उहाँले भ्रष्टाचारमा संलग्नलाई जोगाउने र छुट दिने पक्षमा सरकार कुनै हालतमा नरहेको स्पष्ट गर्नुभयो । सुशासन, लोकतन्त्र, संविधानको रक्षा, शान्ति प्रक्रियालाई टुङ्गो लगाउने र नागरिकलाई सहज सेवा दिने विषयमा सरकार स्पष्ट रहेको प्रधानमन्त्रीको भनाइ छ । आफूले पनि मिटरब्याजीका विषयमा किन ढिला गरियो भनेर प्रश्न गरेको उहाँले जानकारी गराउनुभयो ।