काठमाडौँ । आउँदो मंसिर ४ गतेका लागि संघीय तथा प्रदेश निर्वाचन घोषणा भएसँगै उम्मेदवारी दाबी गर्ने क्रम शुरु भएको छ । यसैैक्रममा राजधानीको केन्द्र मानिने निर्वाचन क्षेत्र नम्बर तीनको प्रदेश ‘क’ मा नेपाली कांगेंसको तर्फबाट जनप्रिय उम्मेदवार कुमारराज सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । यस प्रदेशमा काठमाडौ महानगरपालिका वडा नम्बर ६ र गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ र ९ पर्दछ ।
लामो राजनीतिक इतिहाससँगै गतिलो सामाजिक पृष्ठभूमि भएका सुवेदीको उम्मेदवारी अत्यन्त स्वभाविक र प्राकृतिक भएको स्थानीय नेताहरूको प्रतिक्रिया छ । २०२७ साल बैशाख १८ गते जोरपाटीमा जन्मिएका बहुआयामिक व्यक्तित्वका धनी सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक तहसम्म अध्ययन गरेका छन् । सुवेदीले नेपाली कांग्रेसमा आबद्ध रही तीन दशक भन्दा अघि देखि राष्ट्रियता, लोकतन्त्र, समाजवाद र मानवअधिकारका लागि पनि निरन्तर आवाज बुलन्द बनाउँदै आएका छन् ।
जेल ब्रेक गरेका लौह पुरुष तथा सर्वमान्य नेता गणेशमान सिंह र गान्धीवादी सन्त नेता कृष्ण प्रसाद भट्टराईको राजनीतिक व्यक्तित्वबाट प्रभावित सुवेदीलाई समाज र देशका लागि केही गर्नु पर्छ भन्ने चेतना किशोर कालबाटै जाग्यो । सुवेदी भन्छन् “गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईको व्यक्तित्व देखेर र कांग्रेसले व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्छ भन्ने लोकतान्त्रिक भावना बोकेर नेपाली कांग्रेसमा क्रियाशील भएँ ।” २०४६ सालको जनआन्दोलमा उनी सक्रिय भएर लागे ।
क्रमश: उनी स्व.चक्र बहादुर ठकुरी, शिवध्वज बस्नेत, गोविन्द दाहाल, अम्बिका बस्नेत लगायतको राजनीतिक अभिभावकत्वमा राजनीतिक आन्दोलनमा सहभागी हुन थाले । उनले २०४८ सालमा नेविसंघ जोरपाटी इकाइ सभापतिको जिम्मेवारी सम्हाले । कुशलतापूर्वक २०५१ सालदेखि साविक जोरपाटी गाविस इकाईको सभापतिको जिम्मेवारी पनि उनले पूरा गरे । २०५४ को स्थानीय निर्वाचनमा जोरपाटी गा.वि.स. उपाध्यक्षको चुनाव लडेका उनी हालका संघीय सांसद कृष्ण राईसँग ७१ मतको झिनो अन्तरमा पराजित भए ।
तत्कालीन समयमा गृहमन्त्री रहेका वामदेव गौतमले सत्ता र शक्तिको दुरुपयोग गर्दै देशव्यापी रुपमा एमालेलाई जिताउन मिसन नै चलाएका थियो । केही हद सम्म यसको शिकार सुवेदी जस्तै देशभरका धेरै नेपाली कांग्रेसका धेरै निष्ठावान कार्यकर्ताहरु भए । २०५४ को स्थानीय निर्वाचनमा पराजित भएपनि त्यसपछिको निर्वाचनमा कांग्रेस उम्मेदवारहरूलाई सहयोग गर्न सुवेदीले राजनीतिक भूमिका निर्वाह गरिरहे । राजा ज्ञानेन्द्रको असोज १८ को कदमपछिका आन्दोलनमा पनि उनी प्रत्यक्ष सहभागी भए ।
त्यस्तै २०६२–६३ को आन्दोलनमा पनि उनको भूमिका स्मरणयोग्य छ । २०६४ सालको पहिलो, २०७० सालको दोस्रो संविधान सभा निर्वाचन, २०७४ सालको स्थानीय निर्वाचन र हालै सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसको पक्षमा जनलहर ल्याउन विभिन्न भूमिकामा उनी दिनरात खटिरहे । हालै सम्पन्न स्थानीय निर्वाचनमा उनले पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्र्तगतको ‘काठमाडौं उपत्यका स्थानीय तह आन्तरिक सूचना एवं समन्वय उपसमिति’ मा सदस्य रही अत्यन्त जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरे ।
उनीसँग पार्टीको अनुसन्धान, नीति तथा प्रशिक्षण प्रतिष्ठानमा आबद्ध रही कार्य गरेको अनुभव पनि छ । राजनीति बाहेक विश्वको सबैभन्दा ठूलो समाजिक संस्था लायन्स क्लब इन्टरनेशनलसँगको आबद्धता र मानव अधिकार आन्दोलन मार्फत सामाजिक सेवाको क्षेत्रमा सुवेदी चिरपरिचित व्यक्तित्व हुन् । उनी समाजको चौतर्फी विकासका लागि स्वस्थ र पारदर्शी राजनीतिको खाँचो औल्याउँछन् ।
२०५१/०५२ मा सुवेदी संस्थापक अध्यक्ष (चार्टड प्रेसिडेन्ट) भई गठन भएको लायन्स क्लब अफ काठमाडौं जोरपाटी समाज सेवाको क्षेत्रमा स्वदेशमा मात्र नभई विदेशमा समेत अब्बल मानिन्छ । सन् २०१४–०१५ मा उनी लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए १ को भाइस डिष्ट्रिक गभर्नर भए । लायन्स क्लव स्थापनाको सत वार्षिकीमा (२०१६–२०१७) गभर्नर चुनिए । गभर्नरको रुपमा लायन्स वृत्तमा उनको कार्यकाल अत्यन्त सफल मानिन्छ ।
यसबापत उनलाई लायन्स मुख्यालयबाट सम्मान समेत गरिएको थियो । सन् २००५ देखि जोरपाटी लायन्स एकेडेमीको संस्थापक अध्यक्षको रुपमा पूर्ण छात्रवृत्ति तथा न्यून शुल्कमा विपन्न वर्गका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसभन्दा अगाडि नै सुवेदीले २०४८ सालमा एमनेष्टी इन्टरनेशनल जस्तो प्रतिष्ठित संस्थाको काठमाडौं इष्ट ग्रुप ३५ को संयोजक भई उत्कृष्ट ढंगले कार्य सम्पादन गरे ।
त्यसैले मानव अधिकार र लायन्स अभियानको क्षेत्रमा समग्र काठमाडौं उत्तरपूर्वी क्षेत्रमा उनलाई “रोल मोडल” को रुपमा लिइन्छ । २०५९ सालमा मानव अधिकार तथा शान्ति समाज काठमाडौं जिल्ला कार्य समितिमा निर्विरोध सभापति भएका सुवेदीले उक्त संस्थामा केन्द्रीय सदस्य, सचिव हुँदै २०६५–२०६९ सम्म दुई कार्यकाल महासचिवको जिम्मेवारी पनि सफलतापूर्वक सम्हाले । क्याम्पस जीवनमा २०४६ सालको परिवर्तनले पारेको गहिरो प्रभाव, चामुण्डा वाचनालय र जोरपाटी युवा क्लवका अग्रजहरूबाट पाएको प्रेरणा सँगसँगै खेलकुद साहित्यिक कार्यक्रमबाट प्रभावित भएर शुरू भएको उनको निस्वार्थ सामाजिक, मानवीय सेवाको यात्रा विवरण धेरै लामो छ ।
२०७५ देखि उनी नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षको भूमिकामा छन् । सुवेदी आफूले सकेको सहयोग सबैले गर्नुपर्ने मान्यता राख्छन् । २०७२ सालको भूकम्पको बेलामा उनले आफ्नै खर्चमा आफ्ना साथीभाइको सहयोग, लायन्स क्लबहरूसँग समन्वय गरी धेरै राहतका कार्यहरूमा सहभागी भए । हाम्रो सहयोग अभियान मार्फत कोभिड महामारीको समयमा पनि उनले निर्वाह गरेको काम सम्झनालायक छ ।
समाज सेवाप्रतिको समर्पण, लगाव तथा चिरपरिचित सामाजिक अभियन्ताको छविका कारण सुवेदी धेरै सामाजिक संघसंस्थामा आबद्ध छन् । सुवेदी चक्र स्मृति पाठशालाको व्यवस्थापन समिति अध्यक्ष, चामुण्डा मा.वि. पूर्व विधार्थी मञ्चको संस्थापक अध्यक्ष, अभिनव साहित्य समाजको संस्थापक सह कोषाध्यक्ष, टी.यू.रक्तसञ्चार बैंक तथा अनुसन्धान केन्द्रको संरक्षक, सुवेदी कल्याण प्रतिष्ठानको केन्द्रिय कार्यसम्पादन समिति सदस्य समेत छन् । उनले लायन्स कन्भेन्सनका क्रममा अमेरिका, जापान, युएइ, थाइल्याण्ड, मलेसिया, बंगलादेश, भारत, चीन लगायतका मुलुकको भ्रमण गरेका छन् ।
सुवेदी भन्छन्, “संविधानमा मात्र समाजवाद उल्लेख गरेर हँदैन, व्यवहारमा समाजवादको जनताले अनुभव गर्न सक्ने वातावरण राज्यले बनाउन सक्नुपर्छ, प्रकृति नष्ट गरेर मानव जातिको अस्तित्व जोगाउन सकिदैन, त्यसैले सबै प्राणीको हित अनुकूलको समाजवाद आउनुपर्छ ” राजनीतिमा परोपरकारलाई केन्द्रमा राख्ने नेतृत्वको खाँचो रहेको औल्याउनु हुँदै सुवेदी भन्छन्, “नेता आफू स्वयं उदाहरणीय हुन सक्ने व्यक्तित्व बन्नुपर्छ, हामीले २०४६ साल हेयौं, राजाको शासन हे¥यौं, २०६२–०६३ को परिवर्तन हेयौं, मिलिजुली शासन, दुई तिहाइको शासन हे¥यौं तर नेपालको अपेक्षित रूपमा विकास हुन सकेन, किनकि देश विकास हुन सफा नियत, बलियो नेतृत्व र प्रष्ट नीति भएको नेता चाहिन्छ, जस्को नेपालमा अभाव खड्किरहेको छ ” देश विकास साँच्चै चाहने हो भने युवा पुस्ता राजनीतिबाट टाढा हुनु हुँदैन भन्ने मान्यता सुवेदीको छ ।
युवापुस्ताले राजनीतिमा रचनात्मक हस्तक्षेप गरी समय सुहाउँदो, निष्ठाको राजनीति तर्फ अग्रसर हुन जरूरी रहेको उनी बताउँछन् । क्षमता भएका युवा राजनीतिमा आउनुपर्छ र उनीहरूले राजनीतिमा स्वस्थ प्रतिस्पर्धाबाट अगाडि जाने अवसर पाउनुपर्ने मान्यता उनी राख्छन् ।